Template Information

Home » » एमालेको समानुपातिकमा सबै नयाँ

एमालेको समानुपातिकमा सबै नयाँ

Written By Unknown on Saturday, October 19, 2013 | 8:02 PM

काठमाडौ, कार्तिक ३ - प्राथमिकतामा को-को ?
-युवापंक्तिका नयाँ अनुहार
-समानुपातिक सूचीमा परेर पनि सभासद हुन नपाएका
-विगतमा प्रत्यक्षमा निर्वाचित भएका
एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा सबै नयाँ अनुहार पठाएको छ ।
निर्वाचन आयोगमा यसअघि बुझाएको बन्दसूची संशोधन गर्दै एमाले स्थायी कमिटीले अघिल्लो संविधानसभामा पार्टीको समानुपातिक कोटामा सभासद भएका सबै नेतालाई यसपटक सूची बाहिर राखेको हो । नयाँलाई अवसर, पार्टीले पाउने अवसरको न्यायोचित वितरण र आन्तरिक व्यवस्थापनको सहजताका लागि एमालेले समानुपातिक कोटाबाट सभासद बनाउने मापदण्ड नै नयाँ बनाएको हो ।
एमाले सचिव युवराज ज्ञवालीका अनुसार यसअघि समानुपातिक कोटाबाट सभासद भएका कुनै पनि नेताको नाम नरहने गरी निर्वाचन आयोगमा बन्दसूची संशोधन भइसकेको छ । 'पार्टीका तर्फबाट बन्दसूचीका उम्मेदवारको अन्तिम नामावली पठाइसकेका छौं,' उनले भने, 'कात्तिक ५ सम्म संशोधनको समय बाँकी भए पनि अब हेरफेर हुँदैन ।'
एमालेको यो निर्णयले विगतमा प्रत्यक्षमा निर्वाचित भएका, समानुपातिक सूचीमा परेर पनि सभासद हुन नपाएका र युवापंक्तिका नयाँ अनुहारलाई सभासद बन्ने ढोका खुलेको छ ।
पार्टीले देशभर पाउने मत प्रतिशतका आधारमा पाउने कोटामा सभासद हुन बन्दसूचीमा नाम हुनु अनिवार्य छ । 'प्रत्यक्ष निर्वाचनतर्फको प्रतिस्पर्धामा जो लोकपि्रय छ, उसैले निरन्तर अवसर पाउनु स्वाभाविक हो,' ज्ञवालीले कान्तिपुरसँग भने, 'समानुपातिक प्रणालीमा पार्टीले मनोनयन गर्ने भएकाले यसमा पुरानालाई नदोहोर्‍याउने नीति बनाएको हो ।'
अघिल्लो पटक समानुपातिक कोटाबाट सभासद भएका पार्टीका प्रभावशाली नेताहरूमध्ये सचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य भीम रावल यसअघि नै प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । प्रत्यक्षतर्फ पनि टिकट नपाएका पोलिटब्युरो सदस्य विष्णु रिमाल, कानुन व्यवसायी पृष्ठभूमिका अग्नि खरेललगायत नेताहरू भने पछिल्लो निर्णयको मारमा परेका छन् । खरेल अघिल्लो संविधानसभामा सबैभन्दा बढी उपस्थित हुने र प्रभावकारी भूमिका खेल्ने सभासदमध्येका एक थिए । 'पुरानामध्येबाट कुनै एक दोहोरिने बित्तिकै दोस्रो, तेस्रो किन नदोहोरिने भन्ने प्रश्न उठ्छ,' ज्ञवालीले भने,  'पार्टीभित्र लामो योगदान गरेका, सक्षम र दक्ष युवाको ठूलो पंक्ति छ, उनीहरूलाई पनि अवसर दिनुपर्छ ।'
पार्टीमा आउने अवसरको न्यायोचित वितरण र आन्तरिक व्यवस्थापनका लागि एमालेले प्रत्यक्षतर्फ उम्मेदवार रहेका परिवारका सदस्यसमेतलाई समानुपातिक प्रणालीतर्फको बन्दसूचीबाट हटाएको छ । यसअघि बन्दसूचीमा परेका अधिकांश नेताका पत्नीहरू प्रत्यक्षतर्फ पति उम्मेदवार रहेकै कारण बन्दसूचीबाट हटेका हुन् । पार्टी महासचिव ईश्वर पोखरेलकी पत्नी मिरा ध्वजु, उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा मगर, सचिव पोखरेलकी पत्नी सुजिता शाक्य, पोलिटब्युरो सदस्य पाण्डेकी पत्नी पूर्णशोभा चित्रकार लगायतका नेतृहरू समानुपातिकतर्फको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । पार्टीमा उनीहरूको आफ्नै योगदान र पहिचान भए पनि नेता पति निणर्ायक ठाउँमा भएका कारण बन्दसूचीमा यथावत् रहँदा उनीहरू सभासद बन्ने निश्चितजस्तै थियो ।
'पार्टीमा श्रीमान्-श्रीमती मात्र होइन, एकाघरका दाजुभाइ, दिदीबहिनी, बाबुछोरा र सिंगो परिवारले नै निरन्तर योगदान दिनेहरूको संख्या ठूलो छ,' ज्ञवालीले भने, 'सभासद पद एकै परिवारमा केन्दि्रत नहोस् भनेर नै ठूलो योगदान गरेका परिवारबाट पनि एक जनालाई मात्र उम्मेदवार बनाइएको हो ।' भूगोलको आवश्यकता र लोकपि्रयताका कारणले प्रत्यक्षतर्फ एकै परिवारबाट टिकट पाउनु स्वाभाविक भए पनि समानुपातिक सूचीमा त्यस्तो अपवादसमेत नराखिएको उनले बताए ।
समानुपातिकबाट सभासद बन्ने नयाँ मापदण्डले विगतमा प्रत्यक्षबाट सभासद भएकादेखि चुनाव हारेका नेताहरूलाई भने राहत मिलेको छ । सचिव ज्ञवाली स्वयं अघिल्लो निर्वाचनमा दाङबाट पराजित भएका थिए । त्यस्तै उपाध्यक्ष विद्या भण्डारीदेखि समानुपातिक सूचीको एक नम्बरमा भएर पनि सभासद नबनेका अमृत बोहरासम्मका केन्द्रीय नेताहरूको नाम बन्दसूचीमा छन् ।
प्रत्यक्षतर्फबाट पहिले सभासद भएकालाई समेत समानुपातिकमा नराखेर नयाँ र प्रतिस्पर्धामा आउन नसक्ने आधारभूत वर्गको प्रतिनिधित्व बढाउन पनि पार्टीमा उत्तिकै दबाब परेको थियो । 'पहिले प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेकालाई समानुपातिकमा राख्नै हुन्न भन्ने होइन,' सचिव ज्ञवालीले भने, 'कतिपयलाई पार्टीले आवश्यक ठानेकाले बन्दसूचीमा राखेको छ ।'

Share this article :

0 comments:

Post a Comment